| सुरक्षाकर्मीको मिलोमतोमा सिमेन्ट तस्करी |
|
काकडभिट्टा / झापाका विभिन्न नाकाबाट भारतीय गुणस्तरहीन सिमेन्ट भित्रिएपछि नेपाली सिमेन्ट उद्योग धराशायी बन्ने अवस्थामा पुगेका छन् । सीमा क्षेत्रमा तैनाथ सशस्त्र र जनपद प्रहरी तथा भन्सार कर्मचारीको मिलोमतोमा अवैधरुपमा सिमेन्ट भित्रिने क्रम बढेपछि नेपाली सिमेन्ट उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । साथै सर्वसाधारणले निर्माण गर्ने भौतिक संरचनासमेत वर्ष नपुग्दै भत्किने गरेको एक व्यवसायीले बताए । भन्सार नाकाबाट थोरै भन्सार तिरेर तथा धेरै मात्रामा भारतको सिलीगुडीलगायतका स्थानबाट रातारात गुणस्तरहीन सिमेन्ट भित्र्याइरहँदा पनि सम्बन्धित निकाय मौन छ । एक वर्षअघि ुबंगाल सुपरु नामको गुणस्तरहीन भारतीय सिमेन्ट प्रयोग गरेका झापाको बुधबारेका दुर्गा भट्टराईले आफूले बनाएको घर पिल्लर र भित्ता छुट्टिएर भत्कने अवस्थामा पुगेको बताउनुहुन्छ । गुणस्तरहीन सिमेन्टका कारण बुधबारे-९ का टीका धिमालको घर भत्किएपछि व्यवसायी भट्टराई २५ बोरा सिमेन्ट क्षतिपूर्तिवापत तिर्नुपरेको बताउनुहुन्छ । गुणस्तरहीन भारतीय सिमेन्ट केही सस्तो भएकोले सर्वसाधारण र ठेकेदारहरुले रातारात अवैधरुपमा भित्र्याएर प्रयोग गरेपछि स्वदेशी सिमेन्ट उद्योगले ठूलो मार खप्नुपरेको हिमालयन सिमेन्ट प्रालिका लेखापाल गोपाल चुँडालले बताउनुभयो । उहाँका अनुसार बढ्दो लोडसेडिङसँगै नेपाली सिमेन्ट महंंगो भएपछि नेपाली सिमेन्टको बजार खस्किएको छ । प्रहरी-प्रशासनको मिलोमतोमा दैनिक पाँच हजार बोराभन्दा बढी भारतीय सिमेन्ट भित्रिने गरेका छन् । बंगाल सुपर पेन्सन हिमाली शताब्दी अजन्ता अम्बुजाजस्ता सिमेन्ट भित्रिँदा भन्सारले गुणस्तरीय भएको भनी छाप लगाउने र मोटो रकम असुलेर कागजमा कम परिमाण देखाई कर्मचारी र कालोबजारियाबीच मिलोमतो हुने गरेको भन्सार स्रोतले जनाएको छ । झापामा हिमालयन गोरखकाली मानसा पशुपति गरी चार सिमेन्ट उद्योग छन् । नागरिकले लाखौं लगानी गरेर साचालन गरेका उद्योग धराशायी हुँदासमेत सम्बन्धित निकाय मौन बस्नु दुःखद् भएको उद्योगी-व्यवसायीको गुनासो छ । गुणस्तरहीन सिमेन्ट झापा इलाम पाँचथरका बजारमा प्रशस्त पाइएका छन् । झापाका उद्योगी-व्यवसायीहरुले बजार अनुगमन तथा गुणस्तरहीन सिमेन्ट नियन्त्रणका लागि जिल्ला प्रशासन भन्सार र भद्रपुर मेची नगरपालिका बिर्तामोड दमकस्थित वाणिज्य संघलाई ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको व्यवसायी सन्तोष प्रसाईंले बताउनुभयो । |